Loktantra Day Celebrated in UAE
| यूएईमा भव्य लोकतान्त्रिक सभा | |
| अप्रिल, २३ यूएई | |
नेपाली दूतावास यूएइको आयोजनामा यही २०६५ बैषाख ११ तदनुसार अप्रिल २३ २००८ का दिन अबुधावी स्थित एक होटलमा जनआन्दोलन २ बाट स्थापित दोश्रो लोकतन्त्र दिवस भव्य रुपमा मनाइयो ।
उक्त अवसरमा महामहिम राजदूत अर्जन बहादुर थापा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा दूतावासका प्रथम सचिव र तृतीय सचिव लगायत अन्य राजदूत परिवारहरुका साथ साथै यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु महिला पत्रकार तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
जनआन्दोलनका शहीदहरुप्रति १ मिनेट मौन धारणा गरेर शुरु भएको सो सभामा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली दूतावास युएइका महामहिम राजदूत अर्जुन बहादुर थापाले अहिलेको अवस्था नेपाली राजनैतिक इतिहासको अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण र युगान्तकारी परिवर्तनको संघार भएको उल्लेख गर्दै हामी नेपालीहरु जहाँ भए पनि नेपाली जनाताको भाग्य निर्माण गर्ने कुरामा आ-आफ्नों ठाउँबाट सहयोग गर्नुपर्छ भन्नुभयो । वहाँले नेपालमा संविधान सभा सफलतापूर्ण रुपमा सम्पन्न भएकोमा सिङ्गो अनतराष्ट्रिय समुदायले खुशी व्यक्त गर्दै उक्त चुनावलाई मान्यता दिएको कुरा समेत सो सभामा स्मरण गराउनु भएको थियो ।
नेपाली समाज यूएइका केन्द्रिय अध्यक्ष रामेश्वर शाहले प्रवासीहरुले प्रत्यक्ष मतदान गर्न नपाए पनि नेपाली अर्थतन्त्रमा टेवा पुर्याएर लोकतन्त्रको विकाश गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो भने जनजाति महासंघका अध्यक्ष यम तमुले समावेशी संविधान बन्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्राध्यापक डा. राजकुमार राईले जहिल्यै पनि अर्काको साहारा खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै नेपालीहरु आफैंले आत्म निर्णय गर्ने बाटो पहिल्याउन सक्ने वातावारणको विकास हुनुपर्ने कुरामा जोड दिनुभयो ।
सो सभामा नेपाल पत्रकार महासंघ युएइ संपर्क शाखाका सभापति जाकीर हुसैन, लुम्बिनी समाजका अध्यक्ष डि.एल. शर्मा, तामाड. समाजका अध्यक्ष छत्र लामा, किराँत याक्थुड.चुम्लुड.का अध्यक्ष चन्द्र चेम्जुङ्ग, नेपाली मगर समाजका अध्यक्ष हरिबहादुर घर्ती मगर, एनआरएनका संयोजक तथा ईलामेली समाजका अध्यक्ष लोक सुवेदी, मुस्लिम समाजका प्रतिनिधि मुसिर अहमद, नेपाली कि्रस्चियन समाजका महासचिव जनक शर्मा, दुबइ रिकि्रएशनल क्लबका ज्ञानबहादुर सुनुवार, नेपाली एकता समाजका कृष्ण जी.सी., नेपाली सास्कृतिक तथा साहित्यिक समाजका संरक्षक लक्ष्मण सापकोटा तथा सहयात्रा दैमासिकका शेष नारायण झालॆ आ-आफ्नों लोकतान्त्रिक भावना पोख्नु भएको थियो ।
कार्यक्रमका अधिकांश बक्ताहरुले अबको परिवर्तनमा सरकारले जनताको चाहनालाई बुझेर युगान्तकारी परिवर्तन ल्याउन सकोस् भन्ने कामना गर्दै अब बन्ने संविधानमा श्रोतको समानान्तर वितरण गर्ने प्रावधान कुनै जात जाति भाषा भाषी वा धर्म विशेषको आधारमा नभइ तल्लो तहका सबै जनतालाई समेट्दै समावेशी संविधान बन्नुपर्ने कुरामा जोड दिएका थिए ।
प्रथम सचिव प्रकाशमणि पौडेलद्वारा संचालन गरिएको सो सभामा दूतावासका उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठलॆ राजदूतावासको निमान्त्रणालाई स्विकार गरी पाल्नु भएका सम्पूर्ण संघ संस्थाका प्रतिनिधीहरुलाई दूतावासको तर्फकाट धन्यवाद ब्यक्त गर्नु भएको थियो । सो क्रममा उहाँले नयाँ बर्षको आगमनसँगै देशमा युगन्तकारी परिवर्तन भएको छ, देश नयाँ मोडमा उभिएको छ । हामी सबैले चाहेको संविधान सभाको चुनाव पनि सम्पन्न भएको छ । तथ्याङ्क अनुसार ८० प्रतिशत जति जनजाति तथा दलितहरु पनि संविधान सभाको सदस्यमा चयन भएको हुदा साच्चै नै लोकतन्त्र आएको महशुस भएको छ । यो निर्वाचन एउटा खुड्कीलो मात्र हो ।
लोकतन्त्र त्यतिबेला समपन्न हुन्छ जबकी आउने सम्विधानमा सबै जनजात वर्ग धर्म मान्नेहरुले आ-आफ्नो अधिकारको सुरक्षाको अनुभूति हुन पाउछ । संविधान सभाको चुनावमा चुनिएर गएका सदस्यहरुले अवस्य सबैलाई समेट्ने खालको संविधान कोर्दै नयाँ नेपालको निर्माण गर्नुहुने छ । हामी विदेशमा छौ भनेर चुप लागेर हुदैन आ- आफ्नो क्षेत्रबाट देशलाई सक्दो सहयोग गर्नु पर्दछ भन्दै अन्त्यमा फेरि एकपटक सबैलाई नव बर्षको शुभ कामना सहित धन्यवाद दिनु भएको थियो ।
कार्यक्रम साँझ साढे ६ बजे शुरु भई करिव साढे ८ बजे समाप्त भएको थियो । कार्यक्रम पश्च्यात रात्रि भोजको आयोजना गरिएको थियो ।
Popularity: 34% [?]
Leave a Reply