‘Kabita Gosthi’ in UAE
| यूएइमा नौलो खालको कवि गोष्ठी सम्पन्न | |
| मई, १० यूएइ | |
आसन ग्रहण गुन्द्रीमा, कार्यक्रममा न कुर्सी छ, न माइक । न त व्याच वितरण गरियो, न त फूलका गुच्छाले स्वागत । एउटा नितान्त नौलो पाराको कार्यक्रम । नेपाली साहित्यिक तथा साँस्कृतिक समाज, यूएइले अबुधावी स्थित आफ्नों श्रद्धाको बोट बोधीवृक्षको परिसरमा यस्तै खाले भेलामा प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास यूएइका महामहिम राजदूत अर्जुन बहादुर थापाले अरबको तातो घाममा तातो माया दिएर आमन्त्रण गरिएकोमा धन्यवाद दिदै मरुभूमिमा फस्टाउँदै गरेको साहित्यिक गतिविधिको प्रशंसा गर्नु भयो भने उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले सो समाजले विगतदेखि नै आफ्ना उत्कृष्ट प्रस्तुतिहरु पस्कँदै आएको कुरा स्मरण गर्नुभयो ।
नेपाली समाज यूएइका अध्यक्ष रामेश्वर शाहद्वारा यस संस्थाले प्रवासबाट पनि साहित्य सिर्जनातर्फ अग्रसर भएकोमा आफू निकै खुशी भएको भन्दै प्रचलित मिडियाहरुमा प्रत्येक हप्ता यस संस्थाको तर्फबाट एउटा साहित्यिक कृति देख्न पाइयोस् भन्ने आशा गर्दै यस कुरामा आफू निकै आशावादी रहेको पनि उहाँले बताउनुभयो । अतिथिहरुले गुन्द्रीमा पलेंटी मारेर आफ्ना भावनाहरु पोखिरहँदा ठेट नेपालीपनको अनुभव गरेको र सो कार्यक्रम अति सरल र सौम्यताका साथ भएको देखिन्थ्यो । कवि चन्द्र चेम्जोङ्ग सहित रामेश्वर शाह र जेपी
सापकोटाको निर्णायक मण्डलद्वारा प्रतियोगीहरु मध्येबाट शालिकराम कार्की, अन्जान बोहोरा चतुरे र बसन्त थापा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा घोषित गरिएको थियो भने विजयी सबैलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सान्त्वना पुरस्कार कृष्ण भूषाललाई दिइएको थियो ।
अन्त्यमा प्रतियोगितामा भाग लिने सबै प्रतियोगीहरुलाई प्रतियोगितामा भाग लिए बापत प्रमाणपत्र प्रदान गरिएको थियो ।
महासचिव गिरधारी रिजालले सञ्चालन गरेको सो कार्यक्रममा सभापतिको आसनबाट सो समाजका अध्यक्ष ज्ञानु गजमेरले समाजको स्मारिका छिट्टै प्रकाशित हुने जानकारी गराउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम विसर्जन गरेका थिए ।
सोही दिन कार्यक्रम सकिएपछि सो समाजको केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु भएको जानकारी गराउँदै त्यस समाजले एक प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
उक्त विज्ञप्तिमा अगाडि भनिएको छ, यस समितिको दोस्रो बैठकको सर्वसम्मतिले निर्णय गरे अनुसार गत १८ अप्रैल २००८ मा ज्ञानु गजमेरको अध्यक्षतामा पुनर्गठित यस संस्थाको केन्द्रीय कार्यसमितिले यस समाजका संस्थापक अध्यक्ष लक्ष्मण सापकोटालाई संरक्षक पदमा बहाली गरेको तर सो संरक्षक पद यस संस्थाको विधानमा हालसम्म उल्लेख नभएको कारण केन्द्रीय समितिले विधान संशोधन गरेर संरक्षक पदको पुनर्विचार गरि उक्त पदको संशोधित विधानमा व्यवस्था नगरेसम्मका लागि सो संरक्षक पद हालको अवस्थामा खारेज गरिएको समेत घोषणा गरेको छ ।
उक्त बैठकको निर्णय अनुसार यूएइबाट यस संस्थाको विशिष्ट सल्लाहकारमा प्रो.डा. राजकुमार राइलाई मनोनित गरिएको छ भने अतिथि सल्लाहकारमा नेपालबाट दामोदर नेपाल र डा. शैलेन्दु प्रकाश नेपाललाई मनोनित गरिएको छ र यूएइबाट बाँकी चारजना सल्लाहकार आगामी बैठकको निर्णयले तय गर्ने कुरा प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै यूएइमा अवस्थित सम्पूर्ण साहित्यिक संस्थाहरुमा एकता हुनु पर्नेमा जोड दिंदै सम्पूर्ण यूएइवासी साहित्यकार तथा विभिन्न साहित्यिक संस्थामा कार्यरत पदाधिकारीहरुलाई एकजुट भइ अगाडि बढ्न समेत नेपाली साहित्यिक तथा साँस्कृतिक समाज यूएइको तर्फबाट जोडदार आव्हान गरिन्छ भनि प्रेस विज्ञप्तिमा बताइएको छ ।
Popularity: 42% [?]
Leave a Reply