Farewell Program in UAE:Organized by Nepali Samaj UAE
नेपाली समाज यूएईद्वारा केन्द्रीय सल्लाहकार तथा सदस्यको विदाई
नेपाली समाज यूएईले यही ११ मार्च २००८ मंगलबारका दिन अबुधावीमा एक कार्यक्रमको आयोजना गरी उक्त समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार सर्वेन्द्र वाग्ले र केन्द्रीय सदस्य दामोदर नेपाललाई विदाई गरेको छ ।
नेपाली समाज यूएईको १८ वर्षे इतिहासमा लामो समयसम्म उक्त समाजभित्र रहेर सामाजिक सेवामा निरन्तर सहयोग पुर्याउँदै आउनु भएका पूर्व अध्यक्ष एवं वर्तमान केन्द्रीय सल्लाहकार सर्वेन्द्र वाग्ले यूएई छाडेर क्यानडा जान लाग्नु भएको र त्यसैगरी अर्का केन्द्रीय सदस्य दामोदर नेपाल पनि यूएई छाडेर नेपाल फर्किन लाग्नु भएकोले उहाँहरुको सम्मानमा नेपाली समाज यूएईले एक विदाई कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली समाजका अध्यक्ष रामेश्वर शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास यूएईका राजदूत महामहिम अर्जुन बहादुर थापा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा समाजसेवी, साहित्यकार, पत्रकार, बुद्धिजीवी र महिलाहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि महामहिम राजदूत अर्जुन बहादुर थापा तथा नेपाली समाजका अध्यक्ष रामेश्वर शाहले दुबै जनालाई दोसल्ला ओढाइ प्रशंसा पत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो ।
नेपाली समाज यूएई, मुसफाह क्षेत्रीय समितिका सचिव गिरधारी रिजाले उपस्थित सबैलाई स्वागत गर्नु भएको सो कार्यक्रममा विदा भएर जाने सर्वेन्द्र वाग्ले र दामोदर नेपाललाई शुभकामना दिने क्रममा किरात राई यायोख्खाका अध्यक्ष कटक राई, एनआरएन एनसिसी यूएईका सहसंयोजक हरि खड्का, यूएई साहित्य परिषदका अध्यक्ष बसन्तमोहन अधिकारी, नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका उपाध्यक्ष खेमनाथ पौडेल, समाजसेवी तथा नेपाली समाजका पूर्व उपाध्यक्ष भुवन राई, नेपाली साहित्यिक तथा साास्कृतिक समाजका उपाध्यक्ष ज्ञानु गजमेर, नेपाली समाजका केन्द्रीय सल्लाहकार सुरेशचन्द्र उपाध्याय, केन्द्रीय सदस्य तथा इमिरेट्स नेवा पुचः का उपाध्यक्ष प्रज्वल श्रेष्ठ, अबुधावी क्षेत्रीय समितिका अध्यक्ष रामगोपाल थापा, मुसफाह क्षेत्रीय समितिका अध्यक्ष अर्जुन कुमार शाह आदिले यूएई छाडेर जान लाग्नु भएका वाग्ले तथा नेपालले यूएईवासी नेपालीहरुको सेवामा पुर्याउनु भएको योगदान र उहाँहरुले यूएईमा रहादा नेपाली समाजको विभिन्न पदमा रही गर्नु भएको सामाजिक कार्यको स्मरण गर्दै आफूहरुले दुई जना होनहार समाजसेवी गुमाउनु परेकोमा दुःख लागे पनि उहाँहरुको उत्तरोत्तर प्रगति होस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी नेपाली महिला समाजकी महासचिव अञ्जु वाग्लेले आफ्नो करिब १२ वर्षको यूएई बसाईमा कहिल्यै पनि आफू नेपालदेखि टाढा छु र नेपालीहरु भन्दा पर छु भन्ने सोचाइ आफूमा आउन नपाएको तथा नेपालीहरुको सहयोग र उद्धारमा नै समय बितेकोले नेपाली समाजले गरेका कार्यहरुको सराहना गर्दै नेपाली समाज सदैव सबैको साझा संस्थाको रुपमा रहिरहोस् भन्ने कामना गर्नु भयो । साथै अहिले यूएई छाडेर जानु पर्दा नरमाइलो लागेको बताउनु भयो ।
सोही क्रममा यूएईबाट विदा हुन लाग्नु भएका दामोदर नेपालले आफ्नो पाँच वर्षे यूएई बसाईमा यूएईको नेपाली समाजले आफूलाई धेरै कुरा सिकाएको, आफ्नो घर, परिवार तथा राष्ट्र नै छाडेर टाढाको विरानो देशमा एक्लै आउँदा पनि नेपाली समाजलाई पाउँदा एउटा अभिभावक पाएको र नेपाली समाजले आफूलाई सदैव अभिभावकत्व प्रदान गरेको बताउनु भयो । साथै उहााले नेपाली समाजमा बसेर सम्पूर्ण यूएईवासी नेपालीहरुको हितमा कार्य गर्ने प्रयत्न गरेको बताउनु भयो । उहाँले यहाँ आफूले सञ्चारको क्षेत्रमा पनि संलग्न भएर नेपालीहरुलाई सुसुचित गर्ने र यूएईका नेपालीहरु बीचका विभिन्न विषयवस्तुहरुलाई विश्वभरि छरिएर रहेका नेपालीहरु सामु पुर्याउने प्रयत्न गरेको बताउनु भयो । आफू नेपाल फर्किन लाग्दा यूएईवासी नेपालीहरुबाट पाएको मायाले गर्दा अत्यन्त दुःख लागेको बताउँदै उहाँले आफू जहाँ रहे पनि यूएईवासी नेपालीहरु र विशेष गरेर नेपाली समाजको माया ममता र स्नेहलाई सदैव सम्झिदै नेपालमा पनि कार्य गर्ने तथा सञ्चारको क्षेत्रबाट पनि निरन्तर कार्य गरिरहने कुरा बताउनु भयो ।
विदाई हुने अर्का व्यक्तित्व सर्वेन्द्र वाग्लेले यो क्षण आफूलाई दुःख भन्दा पनि खुशी बढी लागेको बताउँदै आफू १५ वर्ष पहिले यूएई आउँदा नेपाली समाजलाई एउटा अभिभावकको रुपमा पाएको र अहिले पनि यसले अभिभावक कै रुपमा आफूलाई विदाई गर्न लागेकोमा खुशी व्यक्त गर्नु भयो । यहाँ रहादा आफूले नेपाल बाहिर छु जस्तो कहिल्यै नसोचेको र सबैबाट आत्मियता प्राप्त गरेको उहाँले बताउनु भयो । नेपाली समाज भनेको वृक्ष हो र समाज सेवा भनेको धर्म हो भन्दै वाग्लेले आफू अध्यक्ष भएको बेलामा दुई टुक्रामा रहेको नेपाली समाजलाई एक गराउन सफल भएको र त्यस कार्यमा सहयोग पुर्याउने सबै साथीहरुलाई धन्यवाद दिंदै तत्कालीन कावा राजदूत मोहनकृष्ण श्रेष्ठलाई पनि धन्यवाद दिनु भयो ।
सोही विदाई कै क्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेपाली दूतावास यूएईका राजदूत महामहिम अर्जुन बहादुर थापाले विदाइको अनुभव अत्यन्तै दुःख दायी हुन्छ भन्दै मुटुमाथि ढुंगा राखेर दुई जना अत्यन्तै असल र होनहार मित्रहरुलाई विदा गर्नु परेकोमा दुःख व्यक्त गर्नु भयो । राजदूत थापाले आफू यूएई आएको छोटै समय भए पनि यो छोटै समयमा पनि उहाँहरुसँग आत्मियता बढ्यो र उहाँहरुको व्यक्तित्वको पहिचान भयो भन्दै यस्ता असल व्यक्तित्व भएका वुद्धिजिवीहरुलाई टाढा पठाउनु पर्दा दुःख लागे तापनि आगामी दिनहरुमा पनि उहाँहरुले जहाँ रहे पनि आफ्ना सामाजिक कार्यहरुलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको बताउनु भयो । नेपाल दुबई डटकम सञ्चालन गरेर दामोदर नेपालले गर्नु भएको नेपालीहरुलाई सुसुचित गर्दै अगाडि बढ्ने उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो । साथै सो कार्यलाई निरन्तरता दिइरहन पनि आग्रह गर्नु भयो ।
त्यसैगरी नयाँ ठाउँमा जाँदा चुनौति हुन्छ, समाज सेवाको कार्यले गर्दा उहाँको जीवन सरल नहुन सक्छ तापनि त्यसलाई सर्वेन्द्र वाग्लेले हाँसी हाँसी स्वीकार्नु भएकोले उहाँलाई शुभकामना छ भन्नु भयो । यस्ता असल व्यक्तित्वहरुसाग लामो समयसम्म सहयात्रा गर्ने चाहना थियो तर पूरा भएन भन्दै महामहिम राजदूतले यी परम मित्रहरुको गन्तव्य प्राप्त होस्, निरन्तर सम्पर्क भइरहोस् र दुःख सुख साटासाट गरेर तन टाढा भए पनि मन भने साथमै रहोस् भन्दै उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा नेपाली समाजका अध्यक्ष रामेश्वर शाहले आफ्नो सहयात्रीहरुलाई विदाई गर्नु पर्दा यो अति नै दुःखको घडी भएको छ भन्दै नेपाली समाजलाई एक गराउने श्रेय तत्कालीन अध्यक्ष एवं वर्तमान सल्लाहकार सर्वेन्द्र वाग्लेलाई जान्छ भन्नु भयो । उहाँले नेपाली समाजमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै त्यसको कदर सदैव भइरहनेछ र यो नेपाली समाजको इतिहासमा कहिल्यै मेटिन्न भन्नु भयो । त्यसैगरी अर्का सदस्य दामोदर नेपालले नेपाली समाजमा अविष्मरणीय योगदान पुर्याउनु भएको छ भन्दै अध्यक्ष शाहले अझ उहाँले यूएईमा नेपाली पत्रकारिताको क्षेत्रमा व्यावसायिक पत्रकारितालाई भित्र्याउनु भएको बताउनु भयो । शाहले नेपालले पत्रकारिताको क्षेत्रबाट नेपाली समाजलाई चिनाउने काम गर्नु भएको भन्दै सच्चा, निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्नु भएकोमा धन्यवाद दिनु भयो । अध्यक्ष शाहले दुबै जना नेपाली समाजको आजीवन सदस्य हुनु भएकोले उहाँहरुले जहाँ रहे पनि नेपाली समाजप्रति सदैव योगदान पुर्याउनु हुनेछ भन्दै दामोदर नेपाल नेपाल र्फकन लाग्नु भएकोमा गर्व लागेको बताउनु भयो । साथै उहाँले अब आफूलाई पनि नेपाल र्फकन पाए हुन्थ्यो भन्ने लागेको पनि बताउनु भयो । अन्त्यमा नेपाली समाजले उहाँहरुले गर्नु भएको सामाजिक कार्यको उच्च मूल्याँकन गरेको छ र गर्ने छ भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँहरुको योगदान निरन्तर रहने विश्वास व्यक्त गर्नु भयो ।
नेपाली समाजका सहकोषाध्यक्ष जेपी सापकोटाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बसन्तमोहन अधिकारीले कविता वाचन गरेर भावपूर्ण विदाइका शब्दहरु पस्कनु भएको थियो ।
Popularity: 43% [?]
Leave a Reply