Budha Jayanti Celebrated in UAE

तामाङ समाज युएईको आयोजनामा युएईमा २५५२ औं बुद्ध जयन्ती मनायो

यही जेष्ठ ७ गतेका दिन तामाङ समाज युएईको आयोजनामा वर दुबईस्थित नेपाली रेष्टुरेन्टमा एक समारोहका बीच  १०८ दिप प्रज्वल्लित गरी २५५२ औं बुद्ध जयन्ती मनाईएको छ ।

तामाङ समाज युएईका अध्यक्ष छत्र बहादुर लामाको सभापत्तित्वमा सम्पन्न सो समारोहमा एन आर एन राष्ट्रिय समन्वय परिषद् युएईका संयोजक श्री लोक सुवेदी, लुम्बिनी वेलफेयर सोसाइटी युएईका अध्यक्ष डि. एल. शर्मा, नेपाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष श्री रविन्द्र  पौड्याल , साप्ताहिक नेपाली समाचारका सम्पादक श्री के.पी. तथा सोही पत्रीकाका सह-सम्पादक श्री किरण शर्मा लगायतका वक्ताहरुले वर्तमान परिस्थितिमा गौतम बुद्धको उपदेशलाई सहि रुपमा मनन् गरी उपयोग गर्न सकेमा विश्व समुदायमाझ फैलिरहेको हत्या हिंसा लुटपाट लगायतका घट्ना हरुलाई निर्मूल पार्न ठूलो मदत पुग्ने थियो भन्दै तामाङ समाज युएईले प्रवासमा रहेर पनि गौतम बुद्धको सम्झना स्वरुप उहाँको जन्म दिनको पावन अवसर पारेर कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष छत्र बहादुर लामाले गौतम बुद्धलाई विश्व समुदायले नै शान्तिका अग्रदूतको रुपमा मानिएको तर बुद्ध जन्मेकै हाम्रो देश नेपालमा भने राज्यले गौतम बुद्धलाई कुनै धर्मविशेषको र समुदाय विशेषको मात्र हो भन्ने नीति अवलम्वन गरिँदै आएकोले यसलाई विडम्बना कै रुपमा हामीले लिनु पर्ने बताउनुभयो । उहाँले आगामी दिनमा हुन लागिरहेको राज्यको पुर्न: संरचनाको साथ-साथ यावत गम्भीर विषयहरुमा समेत नीति निर्माण कर्ताहरुको ध्यान यसमा पुग्न जरुरी रहेको बताउनुभयो ।

देशमा भर्खरै १२ वर्ष सशस्त्र द्धन्दबाट मूक्त भएर शान्तितर्फ उन्मुख हुँदै गएकोले त्यसले निरन्तरता पाओस भनि यस पावन अवसरमा उहाँले पुन:भगवान बुद्ध सँग प्रार्थना गर्नुभयो । साथै सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा उपस्थित भईदिनुभएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

तामाङ समाज युएईका संवाद सचिव महेश मोक्तानको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई तामाङ समाज युएईका केन्द्रीय पदाधिकारीहरु सचिव विमल पाख्रिन, कला संस्कृतिका सचिव तुलसी तामाङ, कोषाध्यक्ष राम मोक्तान सदस्य पासाङ पाख्रिन, रविन थिङ लगायत युएईस्थित कार्यरत तामाङ महिलाहरुबाट संयुक्त रुपमा स्वागत गरिएको थियो ।

Popularity: 34% [?]