Training for Indigenous people in Qatar

कतारका आदिवासी जनजाती प्रशिक्षित्

स्वयम्वर सिंह लामा / बिलबहादुर गुरुङ २२ मार्च, दोहा, कतार नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्वारा कतारमा कार्यरत जनजातिहरुलाई प्रशिक्षण दिएको छ । दोहा स्थित टप र्फम रेष्टुरेण्टको सभा कक्षमा यहि २१ मार्च २००८ शुक्रवारका दिन अध्यक्ष अमृत गुरुङको सभापतित्वमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा महासंघका भातृ संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  कार्यक्रमका अथितिहरुमा नेपाल ईन्जीनियर एशोसिएशन कतारका अध्यक्ष नारायण प्रशाद चौधरी, नेपाल कतार एकता समाजका उपाध्यक्ष मदन श्रीस्, आप्रवासी तामाङ समाज दोहा, कतारका अध्यक्ष सुकबहादुर तामाङ, तमुबौद्ध सेवा समिति शाखा, कतारका उपाध्यक्ष लक्ष्मी कुमार गुरुङ र महासचिव कृष्ण गुरुङ, किरात राई योयोख्खा शाखा, कतारका अध्यक्ष चन्द्र शेर राई, किरात याक्थुङ एकता समाजका महासचिव ज्ञानेन्द्र पन्दक, प्रवासी मगर संघ, कतारका अध्यक्ष छत्र घले मगर, प्रवासी शेर्पा संघका अध्यक्ष तेन्जीङ शेर्पा, थारु कल्याणकारी सभा कतारका सभापति विद्यानन्द चौधरी र नेपाल दराई संघका अध्यक्ष ज्ञानेन्द्र दराई लगायतका हुनुहुन्थ्यो ।   महासंघले नेपालमा हुन गईरहेको आउदो संविधानसभाको चुनाव र त्यस पछिका अवस्थालाई लक्षित् गर्दै प्रवासमा रहेका जनजातिहरुको तर्फ बाट देशमा हुन लागेको आमुल परिवर्तनमा कस्तो भूमीका हुनु पर्छ भन्ने जानकारी दिने उदेश्यले आयोजना गरिएको हो भन्ने कुरा अध्यक्ष गुरुङले हामीसंगको छोटो कुराकानीको क्रममा बताउनु भयो ।  महासंघका महासचिव कृष्ण चन्द्र सेलिङद्वारा सञ्चालित उक्त कार्यक्रममा अध्यक्ष अमृत गुरुङ र महासंघ तथा तमु बौद्ध सेवा समिति कतार शाखाका सल्लाहकार बिलबहादुर गुरुङले विभिन्न समसामयीक विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।   अध्यक्ष अमृत गुरुङले नेपालको ईतिहासमा नै पहिलो पटक हुन गैरहेको संविधानसभा चुनावको प्रकृयागत जानकारी, संविधानसभामा आदिवासी जनजातिहरुको प्रतिनिधित्वको सुनिश्चित्ता, महासंघले हालसम्म प्राप्त गरेको उपलब्धिहरु, प्रवासी आदिवासी जनजातिहरुले संविधानसभा चुनावमा खेल्न सक्ने भूमिकाका वारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि प्रमुख प्रशिक्षक बिलबहादुर गुरुङले नेपाल राज्यको पुनःसंरचना विषयमा प्रशिक्षण दिनु भएको थियो । आफ्नो प्रशिक्षणको क्रममा राज्यको पुनःसंरचना गर्नु पर्नाका विभिन्न कारणहरुलाई बिष्लेषणात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो । मुलुकलाई संघीय राज्य प्रणालीमा लानु पर्ने कुरामा जोड दिनु हुदै आसन्न संविधानसभामा प्रवासीहरुको भूमीकाका बारेमा प्रष्ट पार्नु भएको थियो । प्रशिक्षक गुरुङले आउदो संविधानसभामा प्रवासी जनजातिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा अभिमत राख्दै स्वदेशमा रहेका जनजातिहरुको पक्षमा उर्जा थप्ने काम गर्नु पर्नेमा जोड दिनु भयो भने सहभागीहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो ।   प्रशिक्षणको अन्तमा महासंघका सल्लाहकार तथा प्रवासी मगर संघ, कतारका अध्यक्ष छत्र घले मगरले कार्यक्रम वारे उठाउनु भएको टिप्पणी प्रस्तुत गर्नु भएको थियो । आफ्नो टिप्पणीको क्रममा घले मगरले नेपालको आउदो संविधानसभाको चुनावमा जनजातीहरुको हक अधिकार सुनिश्चित गर्न लागि पर्ने व्यक्ति तथा पार्टिका उम्मेदवारहरुलाई भोट दिनका लागि नेपालमा रहेका आफ्नो परिवार तथा आफन्तलाई फोन मार्फत तथा अन्य माध्यमबाट खवर गर्ने र बढिभन्दा बढि जनजाति तथा जनजातिका शुभचिन्तकहरुलाई संविधानसभामा पुर्‍याउन मदत गर्न सबै आदिवासी जनजातिहरुलाई अनुरोध गर्नु भएको थियो ।
 

कार्यक्रमको अन्तमा सभाका सभापति अमृत गुरुङले नयाँ नेपालको संरचनासंगै आफ्नो हक, हीत, आत्मनिरभरताको रक्षा तथा अधिकारको प्राप्तीको लागि कुनै पनि राजनैतिक दलमा आबद्ध भएमा आफ्नो समस्यलाई सम्बन्धीत निकायसम्म प्रत्यक्ष रुपमा राख्न सजिलो हुने बताएका थिए भने आउदो संविधान सभाको चुनावको प्रणाली सम्बन्धी बिष्तृत जानकारी दिंदै सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिनुका साथ कार्यक्रमको बिसर्जन गर्नु भएको थियो ।

Popularity: 42% [?]