Dipak Bista awarded in South Korea

नेपाली तेक्वान्दो खेलाडी दिपक विष्ट कोरियामा सम्मानित
पुरु जोशी
अप्रिल, २०   कोरिया

नेपाली तेक्वान्दो खेलका धरोहर एवम् सम्पूर्ण नेपालको गौरव दिपक विष्ट दक्षिण कोरियामा सम्मानित हुनु भएको छ ।

अप्रील २० तारिख आइतबारका दिन दक्षिण कोरिया स्थित नेपाल कोरिया खेलकुद तथा सांस्कृतिक समितिद्धारा आयोजना गरिएको उक्त दिपक विष्ट सम्मान कार्यक्रममा प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपाली राजदूत महामहिम कमल प्रसाद कोइराला लगायत नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ्ग, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया साखाका उप सभापति रघु त्रिपाठी, नेपाली सम्पर्क समितिका सचिव आनन्द गुरुङ्ग, एम टी यु का अध्यक्ष तोरण लिम्बु, नेपाली प्रगतिशील मोर्चाका अध्यक्ष सुमन राइ लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

नेपाल कोरिया खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष भरत गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्नु हुँदै महामहिम राजदूत कमल प्रसाद कोइरालाले नेपाली तेक्वान्दो खेलाडी दिपक विष्टलाई यो कार्यक्रम मार्फत सम्मान गर्न पाउँदा आफू निक्कै खुशी हुनु भएको बताउनु भयो साथै आउँदो बेइजिङ ओलम्पिकमा सफलता प्राप्त गर्नको लागि शुभ कामना पनि ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी नेपाली तेक्वान्दोका कोच क्वान् हुक जोङले बेइजिङ ओलम्पिक शुरु हुने दिनसम्म आफूले पूर्ण रुपमा दिपक विष्टलाई ट्रेनिङ दिलाई जसरी भएपनि दिपक विष्ट मार्फत एउटा मेडल नेपाललाई दिलाउन कोशिस गर्ने बताउनु भयो ।

दक्षिण कोरियाको राजधानी सिओलको उच्जिरो स्थित माइग्रान्ट ट्रेड युनियनको भवनमा भएको उक्त कार्यक्रममा करीब ६० जना नेपाली तथा कोरियनहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्मानित हुनु भएका दिपक बिष्टले यसरी विदेशमा आफूलाई सम्मान गरेकोमा सर्वप्रथम आयोजक नेपाल कोरिया खेलकुद तथा सांस्कृतिक समिति र त्यसका सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो साथै आफ्नो तर्फबाट नेपालको खेलकुद बिकासमा कमी हुन कुनै कसर बाँकी नराख्ने कुरा व्यक्त गर्नु भयो साथै आउँदो बेइजिङ ओलम्पिकमा नेपालको नाम विश्वभर चिनाउन मरिमेट्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

साथै आयोजक कमिटीका अध्यक्ष भरत गुरुङले दिपक विष्टलाई दोसल्ला ओढाउनु भै सम्मान पत्रका साथ सम्मान स्वरुप नगद ८ लाख कोरियन वन् -नेरु ५० हजार) हस्तान्तरण गर्नुभयो । साथै वहाँले दिपक विष्टलाई आफ्नो संस्थाको तर्फबाट सम्मान गर्न पाउँदा आफू निक्कै खुशी भएको र भविष्यमा पनि दिपक विष्टको लागि यस्ता कार्यक्रमहरु निरन्तर होस् र साथै दिपक विष्टले ओलम्पिकमा सफलता पाइ नेपालको नाम उच्च राखोस् भनी कामना गर्नु भएको थियो ।

स्मरण रहोस् यो कार्यक्रममा अर्का तेक्वान्दो खेलाडी पुष्प थापा मगरलाई पनि सम्मान पत्र सहित एक लाख कोरियन वन् -नेरु. ७ हजार) हस्तान्तरण गर्नुभएको थियो भने कोरियन प्रशिक्षकलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

Popularity: 27% [?]