-› जनयुद्ध पाँच पुरस्कार हात पार्न सफल
राष्ट्रिय चलचित्र पुरस्कारमा जनयुद्ध छाएको छ । माओवादी \'जनयुद्ध\' सम्बन्धी उक्त सिर्जनाले उत्कृष्ट चलचित्रसहित पाँच विधाका पुरस्कार हात पार्यो ।
राजधानीमा सोमबार आयोजित समारोहमा आकाश अधिकारीले उत्कृष्ट नायक, सुरेश अधिकारीले गीतकार, बनिश शाहले सम्पादन र तारा केसीले उत्कृष्ट चरित्र अभिनेत्रीको पुरस्कार थापे । नेपाल चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको पुरस्कारमा २८ चलचित्र प्रतिस्पर्धी थिए । निर्णायक मण्डलमा प्रदीप भट्टराई, रामचन्द्र ज्ञवाली र छिरिङरितार शेर्पा थिए ।
उत्कृष्ट निर्देशकको पुरस्कार किस्मतमार्फ उज्ज्वल घिमिरेले प्राप्त गरे । किस्मतबाटै रेखा थापाले उत्कृष्ट नायिका, मुकेश शाहले पुनर्ध्वन्यांकन र किरण पाण्डेले शृंगारको पुरस्कार हात पारे । चरित्र अभिनेतामा राजेश हमाल (मर्यादा), खलनायकमा रमित ढुंगाना (घातक) तथा पटकथा/संवादमा विकास आचार्य र पार्श्व संगीतमा मनोहर सोनाम (दाइको ससुराली) अब्बल घोषित भए ।
सुरेश अधिकारीले पर्खिबसेंमार्फ उत्कृष्ट संगीतकारको पुरस्कार पनि पाए । डरबाट वसन्त श्रेष्ठ उत्कृष्ट नृत्य निर्देशक, राजुविक्रम थापा छायाकार र तरुनिका क्रिएसन उत्कृष्ट वेशभूषाकार दरिए । लालसलामले द्वन्द्व र कला निर्देशनमा बाजी मार्यो ।
माइतीघरका नायक/नायिका सीपी लोहनी र माला सिन्हासमेत सहभागी रहेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय पुरस्कार विवादमुक्त भने रहन सकेन । माओवादी सम्बन्धित चलचित्रलाई प्राथमिकता दिएको भन्दै कलाकर्मीले विरोध गरेका थिए । बोर्ड अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले आरोप प्रतिवाद गर्दै \'पुरस्कार नपाउनेले विरोध गरेको\' बताए ।
\'हामी तीनै जना निर्णायक बस्न योग्य थियौं,\' निर्णायक भट्टराईले भने- \'गाली र ताली दुवै खान तयार छौं, हाम्रो निर्णय निष्पक्ष छ ।\'
- Jul 1 2008 Tuesday 12:25:46 AM